सुचना, समाचार र मनोरन्जन

पैसाको अभावमा पोखरा रंगशाला निर्माण कार्य रोकिने छैन : प्रधानमन्त्री ओली

सन्तोष बस्याल

पोखरा /

पोखरा रंगशालाको निर्माण कार्यलाई शिघ्र समापन तर्फ लग्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । सोमबार रंगशालाको निरिक्षण गर्दै ओलीले पैसाको अभावमा रंगशाला निर्माण कार्यमा बाधा नपुग्ने आश्वासन दिए ।

उनले सो रंगशाला निर्माणका निम्ति आवश्यक पर्ने रकम उपलब्ध गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । जसका लागि केन्द्र सरकारसँग समन्वय गर्न प्रदेश सरकारलाई उनले आग्रह गरेका छन् । पोखरा रंगशाला निर्माणको गतिले तिव्रता पाएको देख्दा खुशी लागेको अभिव्यक्ति उनले दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालसँग रंगशाला निर्माणका विषयमा जानकारी लिइँदै प्रधानमन्त्री ओलीले खेलाडीलाई अनुशासित पूर्वक खेल्ने वातावरणको निर्माण गर्ने गरी सरकारले काम गर्ने बताए । १३ औैं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल पोखरामा हुँदा अन्तराष्ट्रिय स्तरको खेल खेलाउन सक्ने रंगशालाको निर्माण गरे जस्तो आभाष भएको उनले बताए ।

उनले यसलाई ठूलो उपलब्धीका रुपमा व्याख्या गरेका छन् । चार महिनाको छोटो अवधिमा आर्कषक रंगशालाको निर्माण पोखरामा भएको उल्लेख गर्दै पोखरा सहित समग्र गण्डकी प्रदेशलाई प्रधानमन्त्री ओलीले बधाई दिए । पोखरा रंगशालालाई सम्पूर्ण रुपले तयारी गर्न केन्द्र सरकार अग्रसर भएर लाग्ने उनले बताए । यसअघि केन्द्र सरकारले सातै प्रदेशमा रंगशाला निर्माण गर्ने लक्ष्य राखेको जानकारी उनले गराए ।

तत्कालिन समयमा नेपालमा जम्मा एउटा दशरथ रंगशाला रहेको र अहिले देशका विभिन्न ठाउँमा रंगशाला निर्माणको चरणमा रहेको उनले जानकारी गराए । उनले पूर्वाधारमा कमी आउन नदिने गरी रंगशालाको निर्माण गरिने बताए । राम्रा प्रशिक्षकहरुद्वारा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउन सरकार कटिबद्ध भएर लाग्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीको छ ।

प्रधानमन्त्री ओलीले खेलाडीलाई इमान्दारी पूर्वक राष्ट्रका लागि खेल्न अनुरोध गरेका छन् । पछिल्लो समय विभिन्न अन्तराष्ट्रिय टुर्नामेन्टहरुमा नेपालीहरुले स्वर्णपदक जित्दा आफु खुशीले हर्षित हुने गरेको उनले बताए । यस्तै बफादारिताका साथ खेलिरहे सफल अवश्य भइने तर्क उनको छ । उनले नेपाल टयालेन्ट नै टयालेन्टको देश भएको बताएका छन् ।

यसको विकासका लागि सरकारले अब पूर्वाधार निर्माणमा ढिलाई नगर्ने बताए । उनले प्रशिक्षकलाई समेत खेलाडीको रुची अनुसारको प्रशिक्षण सरल सहज ढंगबाट उपलब्ध गराउन आग्रह गरेका छन् ।

कमेन्ट्स
Loading...