सुचना, समाचार र मनोरन्जन

इजरायलले नेपाललाई हस्तान्तरण गरेपछि मात्रै १० जनाको शव स्वदेश ल्याइने

काठमाडौँ/

इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

आज बुधवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले पहिले इजरायलले नेपाललाई शव हस्तान्तरण गरेपछि मात्रै त्यहाँबाट शव नेपाल ल्याउन सरकारले काम थाल्ने जानकारी दिनुभयो । यस्तै बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै थाहा नभएको र खोजी भइरहेको उहाँको भनाइ छ । घाइते चार जनामध्ये एक जना आज डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ ।

युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका एक सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको प्रवक्ता लम्सालले जानकारी दिए । मन्त्रालय र इजरायलमा रहेको नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीको रजिस्ट्रेशन खुला गरेकोमा अहिलेसम्म तीन सय ८८ जनाले नाम टिपाएका उनले बताए । नेपाल आउन नाम टिपाएकालाई लिन नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज इजरायल जाने र जहाजले दुई सय ५० जनालाई ल्याउने उनले बताए ।

नेपाल आउन चाहनेहरूको सङ्ख्याका आधारमा सरकारले अर्को उडान गर्ने प्रवक्ता सेवा लम्सालको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.