सुचना, समाचार र मनोरन्जन

पोखरा ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

पोखरा ।

पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) को लागत साझेदारीमा निर्माण गरिएको शौचालय शुक्रवार एक कार्यक्रमका बीच महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेकी हुन् ।

थापाले एनआरएनएका साथीहरुबाट उठाएको रकमले महेन्द्रपुल जस्तो व्यस्त स्थानमा सार्वजनिक शौचालय बनाएर पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको उल्लेख गरिन् । उनले एनआरएनए सामाजिक क्रियाकलापमा सक्रिय रुपमा लागिरहेको समेत जानकारी गराइन् । नेपालका विभिन्न स्थानमा आवश्यकीय सामाजिक कार्यमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको भनाई उनको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एनआरएनएमा आबद्ध साथीहरुको सहयोगले पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण हुँदा सर्वसाधारणलाई सहज भएको उल्लेख गरे । शौचालयको रेखदेख गर्ने सम्पूर्ण जिम्मेबारी पोखरा महानगरपालिकाको काँधमा आएको उनले बताए । “महेन्द्रपुलमा अत्याधुनिक शौचालयको आवश्यकता थियो । जसलाई पुरा गर्न सफल भएका छौं । यसले आम जनमानसलाई सहजता मिल्नेछ ।”, उनले भने ।

मेयरले आचार्यले महेन्द्रपुलमा नै १ सय ३५ राष्ट्रका झण्डा राखिने बताए । उनले पोखरा आर्ट ग्यालरीको समेत उचित व्यवस्थापन गरिने उल्लेख गरेका छन् । ४० वर्ष पुरानो जीर्ण भवन भत्काएर आवश्यकताअनुसार नै शौचालय निर्माण गरिएको उनले बताए । मेयर आचार्यले विरोधका लागि विरोध गर्नुभन्दा पनि सामाजिक कार्यमा साथ दिन आग्रह गरेका छन् । पोखरा महानगरपालिका समग्र पोखराको विकासका लागि नै सक्रिय रहेको भनाइ उनको छ ।

Leave A Reply

Your email address will not be published.